पटक पटक मभित्र - एउटा राक्षसको उत्पत्ति हुन्छ पटका पटक मभित्र - एउटा राक्षसी प्रबृति उठ्छ र म, म रहन्नँ कोही अर्को हुन्छु । राक्षसको दासत्वबाट उम्केर म जति बल जगाएर, जति छल लगाएर, पसिनाको जल बगाएर भाग्न खोज्छु - पराजयको लात त्यति नै सार्हो गरी मेरो माथमा बज्रन्छ र म लाचार बनी, आफ्नो हारलाई स्विकार्दै त्यस राक्षसको पाउ मल्न पुग्दछु । र म, मबाट अलग्गिएर राक्षसै बन्न पुग्दछु । म काम्, क्रोध र अहंकारमा पागल बनेर सबमाथि दमन गर्न खोज्दछु आफ्नो अँगालोमा आएकी प्रियसिलाई पनि म लुछुन्, मुछ्न र चिथोर्न थाल्दछु उसको भावना एवम् इच्छा विपरीत म काम्, क्रिडामा नाच्न थाल्दछु । र मेरी प्रियसीले पनि तब मलाई एउटा घृणाको दृष्टिले हेर्छे किनकी त्यसबेला, उसले ममा उसको म पाउदिन अरु नै कोही अर्कै देख्छे एउटा दानव मानव भेषमा - ऊ अनुभव गर्छे पटक पटक मभित्र एउटा राक्षसको उत्पत्ति हुन्छ पटक पटक मभित्रको राक्षसले मलाई ऊभन्दा भयानक राक्षस बनाउँछ ।